संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको रिटमा सुनुवाइ आज पनि जारी

Jasus Khabar 3942+ समाचार ( )
८ वैशाख २०८२

काठमाडौं- सर्वोच्च अदालतले संवैधानिक निकायमा छलकपटपूर्ण नियुक्त ५२ जना पदाधिकारी विरुद्धको रिटमा आज सोमबार पनि जारी रहेको छ।

यसअघि हिजो आइतबार सुनुवाइ भएको थियो। आज पनि सुनुवाइले निरन्तरता पाएको हो।

२०७७ मंसिर र २०७८ जेठमा दुईपटक संवैधानिक परिषद सम्बन्धी ऐनलाई अध्यादेशमार्फत संशोधन गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसदीय सुनुवाइ विनै नियुक्त पदाधिकारी नियुक्त गरेका थिए। त्यसविरुद्ध परेका रिटहरूमा बुधबार सुनुवाइ भइरहेको हो।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको (पाँच न्यायाधीशको) संवैधानिक इजलासमा याे रिटकाे सुनुवाइ भइरहेको हो।

चार वर्षसम्म सुनुवाइ विनै थन्क्याइएको नियुक्तिविरुद्धका रिटको अन्तिम सुनुवाइ गत माघ ३० गतेदेखि सुरु भएको थियो।

चार वर्षसम्म सुनुवाइ प्रभावित भएपछि इजलासले नै गत साउन ११ मा पेशी नसर्ने र मुद्दा स्थगित नहुने गरी सुनुवाइ गर्न भनेको थियो। तर उक्त आदेशपछि पनि सुनुवाइमा विलम्ब गर्ने प्रवृत्ति रोकिएको छैन। सोमबार पनि सोही रिटमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो।

रिटहरूको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासमा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन्।

ओलीले नेतृत्व गरेको तत्कालीन संवैधानिक परिषद्‌मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै उपस्थित थिए।

सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा बैठकमा नगए पनि संवैधानिक र लोकतान्त्रिक मूल्यमान्यता विपरीत ओलीले आफू निकटकालाई पद दिलाएका थिए।

छलकपटपूर्ण रुपमा ओलीले नियुक्त गरेका तिनै पदाधिकारीमार्फत् ओलीले संवैधानिक निकायलाई दुरुपयोग गरेको आरोप लाग्दै आएको छ।

प्रतिक्रिया