>
अजमल अन्सारी>
सुनसरी । सुनसरीमा लागुऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को असार १९ गतेसम्मका अवधिमा जिल्लामा लागुऔषधसम्बन्धित ४ सय ४० मुद्दा दर्ता भएका छन् ।>
जिल्लाको ६२.९ किलोमिटर छिमेकीमुलक भारतसँग खुल्ला सीमा जोडिएकाले पनि लागुऔषधको तस्करीसम्बन्धित गतिविधि बढेको जनाइएको छ ।>
>
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले चालु आर्थिक वर्षको असार १९ गतेसम्म लागुऔषध कारोबारमा संलग्न रहेको जनाउँदै स्वदेशी तथा विदेशी गरेर ६ सय ५३ जनालाई पक्राउ गरेको जानकारी दिए ।>
>
‘‘लागुऔषधको ओसारपसारमा संलग्न रहेको भन्दै ६ सय १२ नेपाली पुरुष र ४१ जना नेपाली महिला पक्राउ परेका छन्,’’ उनले भने,‘‘सोही अवधिमा ७ विदेशी नागरिक पुरुष र महिलासमेत सो कारोबारमा संलग्न रहेको जनाउँदै पक्राउ परेका हुन् ।’’>
>
जिल्ला प्रहरी कार्यालय सुनसरीले चालु आवमा १४ हजार ४ सय ३२ किलो गाँजा पक्राउ गरेको छ । त्यस्तै छ २ ग्राम २८ मिलिग्राम किलो चरेश बरामद गरेको छ । त्यस्तै ६ सय ७४ ग्राम ५०६ मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ ।>
>
त्यस्तै गरी बोतल स्कोप ६८ वटा, फेनारगन, डाइजेपाम लगायतका ३ सय ५३ वटा एम्पुल बरामद गरेको छ । त्यस्तै ट्रामाडोल लगायतका ४ लाख २३ हजार ५३ वटा ट्याब्लेट बरामद गरेको छ । >
>
यसैगरी ६८ वटा दुई पाङ्ग्रे, १२ वटा तीन पाङ्ग्रे, २६ वटा चार पाङ्ग्रे, ३ वटा ट्रक र १ वटा एम्बुलेन्स गरी जम्मा १ सय १० वटा सवारी साधनलाई नियन्त्रणमा लिएर कार्वाही गरिएको हो ।>
>
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले भने, ‘‘भारतसँग खुला सिमाना र तस्करीका गोप्य बाटोहरूका कारण लागुऔषधको अवैध कारोबारमा चुनौती थपिएको छ। तर, सुराकी सूचना र नियमित गस्ती तथा चेकजाँचलाई प्रभावकारी बनाउँदै निरन्तर अपरेसन चलाइरहेका छौं।’’>
>
उनले लागुऔषध कारोबारमाथि शून्य सहनशीलताको नीति अनुरूप जिल्ला प्रहरी कार्यालयले सजगता र सतर्कता बढाएको जानकारीसमेत दिए। ‘‘लागुऔषधमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउने काम जारी छ,’’ वहाँले भन्नुभयो।>
>
>>