सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार गेट अगाडि सडकखण्डबाट लागू औषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।>
इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहिवार साँझ साढे ७ बजे भारततर्फबाट नेपाल प्रवेश गरिरहेका विभिन्न व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा उक्त लागू औषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।>
>
प्रहरीका अनुसार को.३८प.७९६० नम्बरको स्कुटरमा सवार धरान उपमहानगरपालिका–१७ का २३ वर्षीय मनिष लिम्बु र स्कुटरमा पछाडि बसेका ऐतेरिया–११ का १९ वर्षीय मनिष राईलाई चेकजाँच गर्दा स्कुटर चालक लिम्बुले मलद्वारमा लुकाइ ल्याएको अवस्थामा ५.९४ ग्राम ब्राउन सुगर जस्तो देखिने लागू औषध फेला परेको थियो ।>
>
यस्तै, पैदल आउँदै गरेका कोशी गाउँपालिका–४ का २४ वर्षीय सम्साद मियाको साथबाट नाइट्रोजम–१० लेखिएको ६ थान ट्याब्लेट, स्पास्मोप्रोक्सिभन ९ क्याप्सुल र करिब ४०० ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।>
>
त्यसैगरी, इनरुवा नगरपालिका–४ का २० वर्षीय शिवदेव खत्वे र ऐतेरिया–३ का २० वर्षीय नितेश स्वर्णकारलाई समेत चेकजाँच गर्दा शिवदेव खत्वेको साथबाट ०.२५ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ ।>
>
पक्राउ परेका सबैलाई लागू औषध र सवारी साधनसहित थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको प्रहरीले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । >
>