डेढ महिनामा ४१ जनाले लिए कञ्चनजंघा हिमाल आरोहणको अनुमति

Jasus Khabar 3942+ समाचार ( )
११ वैशाख २०८२

यो वर्ष विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा हिमाल आरोहण गर्न तयारी गर्नेको संख्या उत्साहजनक देखिएको छ। यो साता मात्र विदेशी र नेपाली गरी करिब दुई दर्जन आरोही तयारी स्वरुप कञ्चनजंघा आधार शिविरमा पुगेका छन्। 

अनुभवी आरोही निर्मला पूर्जासहितका व्यक्ति अहिले आधार शिविरमै रहेको त्यहाँ रहेका याम्फुदिनका पाञ्जो भोटियाले जानकारी दिए। पूर्जा विश्वका ८ हजारभन्दा अग्ला १४ हिमालको ८ महिनाको अवधिमा आरोहण गरेर विश्व कीर्तिमान बनाउने आरोही हुन्। आरोहणका लागि चाहिने बन्दोबस्तीका सामान हेलिकोप्टरमार्फत धमाधम आधार शिविरतर्फ लैजान थालिएको छ।

नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १ मार्च २०२५ देखि २० अप्रिल २०२५ सम्ममा ४ समूहका ४१ जनाले आरोहणका लागि अनुमति लिएको बताएको छ। मन्त्रालयको वेबसाइटमा उल्लेख गरिए अनुसार अनुमति लिनेमा २६ पुरुष र १५ महिला रहेका छन्। अनुमति लिनेहरू कुन देशका नागरिक हुन् भन्ने खुलाइएको छैन।

कञ्चनजंघा आरोहणका लागि अनुमति लिनेबाट सलामी दस्तुर (रोयल्टी)वापत सरकारले ७३ हजार ८ सय अमेरिकी डलर अर्थात् करिब १ करोड ९७ हजार ४ सय ६० रुपैयाँ असुल गरेको समेत उल्लेख गरिएको छ। सरकारले भारतीय सेनाका १० तथा नेपाली सेनाका १३ गरी कुल २३ जनालाई कञ्चनजंघा हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाह गर्ने निर्णय समेत गरिसकेको छ।

नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ‘जोइन्ट एण्डो–नेपाल माउन्टटेरिङ टु माउन्ट कञ्चनजंघा कार्यक्रम अन्तरगत कञ्चनजंघा हिमाल आरोहण गर्न लागेका नेपाली र भारतीय सेनालाई सलामी दस्तुर मिनाह गरिएको हो। प्राय: वैशाख तेस्रो सातादेखि वैशाख दोस्रो सातासम्म कञ्चनजंघा हिमालको आरोहण गर्ने गरिएको छ।

सन् १९५५ मे २५ तारेखमा दिन जर्ज ब्याण्ड र जो ब्राउनले कञ्चनजंघा हिमालको पहिलोपटक आरोहण गरेका थिए। कञ्चनजङ्घा हिमाल पश्चिममा तमोर नदी, उत्तरमा ल्होनाक चु र जोङ्सोङ् ला तथा पूर्वमा टिस्टा नदीद्वारा घेरिएको बताइन्छ।

प्रतिक्रिया