व्यास नगरपालिकाले नकुहिने फोहोर बिक्री गरेर आठ महिनाको अवधिमा रु १४ लाख आम्दानी गरेको छ । गत भदौदेखि फोहोर सङ्कलन गरी व्यवस्थित कार्य थालेको यस नगरपालिकाले चैतसम्मको अवधिमा उक्त रकम आम्दानी गरेको हो । >
पहिलो चरणमा नकुहिने फोहाेरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरी बिक्री गर्न थालिएको नगरपालिकाको वन, वातावरण तथा सरसफाइ शाखाका प्रमुख कृष्ण घिमिरेले जानकारी दिए।>
“ट्रकलाई लोड पुगेपछि बिक्रीका लागि पठाउने गरिएको छ”, उनले भने, “नगरपालिका परिसरमा ‘बेलिङ’ मेसिन जडान गरी नकुहिने प्लास्टिकजन्य, फलामजन्य र कागजजन्यलाई ठूलो आकारबाट दाबेर सानो आकारमा परिणत गरी भण्डारण गर्ने गरिएको छ ।” विगत लामो समयदेखि नकुहिने फोहाेरलाई खाडल खनेर पुर्दै आएकामा हाल नगरपालिका कार्यालय परिसरमै व्यवस्थापन गरी बिक्रीको व्यवस्था मिलाइएको छ ।>
उनका अनुसार रेडबुललगायत आल्मुनियम प्रतिकिलो रु ६०, फलाम प्रतिकिलो रु ३५, टिन रु २५, पानीको बोतल तथा अन्य बोतल रु २३, कपडा पाँच रुपैयाँ ५० पैसा, कापी रु १६ र किताबको प्रतिकिलो रु १४ दररेट कायम गरिएको छ ।>
नगरपालिकाले यसअघि वडा नं ३ मादी नदी किनारस्थित भतेरीमा नकुहिने फोहोर व्यवस्थापन गर्दै आएको थियो । त्यस क्षेत्रको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहोर व्यवस्थापन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशिराम गैरेले जानकारी दिए। उनका अनुसार फोहोर व्यवस्थापनका लागि नगरपालिकाको पुरानो सभाहल र बाहिरी क्षेत्रमा ट्रस निर्माण गरी फोहाेर वर्गीकरण गरिएको छ । फोहोर राख्दा दुर्गन्ध हुन्छ भनेर विरोध गर्ने, जग्गा खरिद कार्यमा बाधा पुर्याउनेका लागि नगरपालिकाले सकारात्मक सन्देश दिएको उनले बताए।>
“नगरपालिका क्षेत्रमा हाल दैनिक १५ टन नकुहिने र सात टनको हाराहारीमा कुहिने फोहाेर सङ्कलन गरिँदै आएको छ”, उनले भने, “पछिल्लो समय कबाडी सामग्रीको महत्व बुझ्न थालेपछि अन्य मानिसले पनि सङ्कलन गरी बिक्री गर्न थालेका छन् ।”>
कुहिने फोहोरलाई व्यास–१० स्थित गौ संरक्षण केन्द्र भतेरीमा व्यवस्थापन गरिँदै आएको छ । नकुहिने फोहोरको दिगो व्यवस्थापनका लागि वडा नं १३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढाइएकामा त्यहाँ पनि स्थानीयले विरोध गरेकाले जग्गा खरिद प्रक्रिया हाललाई रोकिएको छ । नगरपालिकाले सरसफाइ क्षेत्रमा लाखौँ खर्च गर्दै आएकामा अब फोहोरबाट राम्रो आम्दानी गर्न थालेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए। >>