हत्या गरेर फालिएको अवस्थामा बालकको शव बरामद

Jasus Khabar 3958+ समाचार ( )
१२ वैशाख २०८२

 १४ वर्षीय बालकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव बरामद भएको छ। ५ दिन अघिदेखि हराइरहेका वृन्दावन नगरपालिका-७ बस्ने सुरुज राय यादवको छोरा १४ वर्षीय कृष्ण प्रसाद यादवको शव गरुडा नगरपालिका-८ स्थित चाँदी खोलामा फेला परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। 

यादवको शव पानीमा घोप्टो अवस्थामा शुक्रबार बिहान ९ बजे फेला परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले बताए। घटनाको जानकारी पाएपछि डीएसपी कार्की सहितको टोली अनुसन्धानका लागि घटनास्थलमा खटिएको छ।

बरामद शवको प्रकृति हेर्दा कर्तव्य गरी हत्या गरिएको जस्तो देखिएको डीएसपी कार्कीले जानकारी दिए। बालकको पेट र कन्चटमा गहिरो घाउ खत देखिएकाले धारिलो हतियारले प्रहार गरेको हुनसक्ने अनुमान रहेको डीएसपी कार्कीले बताए। 

शव पूर्ण रूपमा गलेर किरा लागेको अवस्थामा पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको प्रहरीले जनाएको छ। वैशाख ६ गते बेलुकी ४ बजे घरबाट बिर्ता गाउँ जान्छु भनी उक्त बालक आफ्नै मोटरसाइकल चढेर घरबाट निस्किएको भएपनि ३ दिनसम्म बालक घरमा फिर्ता नआएपछि ९ गते पीडित परिवारले जिल्ला प्रहरी कार्यालय ज्येष्ठ नागरिक महिला तथा बालबालिका सेल गरुडामा खोजतलासका लागि निवेदन दिएका थिए। घटनासम्बन्धी थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

प्रतिक्रिया