तजमुल हुसैन सुनसरी >
सुनसरी —कोशी टप्पु वन्यजन्तु आरक्षमा पाइने दुर्लभ तथा संकटापन्न प्रजातिको मलाहा बिरालो (fishing cat) को संरक्षण गर्न समुदायमा सचेतना अभियान थालिएको छ । >
संरक्षणको अभावमा संकटमा परेको मलाहा बिरालोको संरक्षणका लागि आरक्षले स्थानीय समुदाय, संरक्षणकर्मी, अनुसन्धानकर्ता तथा विभिन्न सरोकारवाला निकायको सहभागितामा पहल सुरु गरेको हो । कोशी टप्पु वन्यजन्तु आरक्ष, राष्ट्रिय प्रकृति संरक्षण कोष (कोशी प्रदेश) तथा फिसिङ क्याट कन्जर्भेसन एलायन्सको सहकार्यमा सुरु भएको कार्यक्रमबाट मलाहा बिरालोको संरक्षणप्रति समुदायमा थप चेतना फैलिने विश्वास गरिएको आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्र प्रसाद यादवले जानकारी दिए ।>
>
नेपालको तराई क्षेत्रमा पाइने यो दुर्लभ बिरालो प्रजातिको हो, जसलाई स्थानीय भाषामा ‘मलाहा बिरालो’ भनिन्छ । विशेषगरी सिमसार, नदी किनार तथा दलदलीय क्षेत्रमा बसोबास गर्ने यो जनावर माछा खानमा निकै दक्ष हुने मलाहा बिरालोका बारेमा अनुसन्धान तथा विद्यवारिधि गरेकी विज्ञ रमा मिश्रले बताइन् ।>
>
उनका अनुसार यस प्रजातिबारे समुदायमा भ्रम छ, जसका कारण मानिसबाट नै यसलाई खतरा हुन थालेको छ । यसको जीवनशैली, बासस्थान र सिकार गर्ने तरिका अन्य बिरालो भन्दा फरक हुन्छ । यसले पानी प्रतिरोधी रौं, झिल्लिदार खुट्टा तथा रबरजस्तो पुच्छरको प्रयोग गरेर कुशलता पूर्वक पौडन्छ र माछा समात्छ । पछिल्लो समय सिमसार क्षेत्रको विनाश, माछाको संख्या घट्नु, तथा मानवद्वारा निर्मित माछा पोखरीमा राखिएका कुकुरहरूका कारण मलाहा बिरालोको संख्या दिनप्रतिदिन घटिरहेको मिश्रको भनाइ छ ।>>