राष्ट्रपति पौडेलद्वारा लोकही सिटीहल उद्घाटन

Jasus Khabar 3942+ समाचार ( )
६ जेठ २०८३

अजमल अन्सारी

सुनसरी। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको कोशी गाउँपालिकास्थित नवनिर्मित “लोकही सिटीहल” भवनको उद्घाटन गर्नुभएको छ।


संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय मोरङ (विराटनगर) को सहयोगमा निर्माण सम्पन्न भएको उक्त सिटीहल बुधबार आयोजित विशेष समारोहबीच राष्ट्रपति पौडेलले उद्घाटन गर्नुभएको हो।


उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्थानीय तहमा भौतिक पूर्वाधार विकासले सेवा प्रवाहलाई प्रभावकारी बनाउने बताउनुभयो। उहाँले विकास निर्माणसँगै सुशासन, पारदर्शिता र जनउत्तरदायी कार्यशैलीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।


राष्ट्रपति पौडेलले सार्वजनिक भवनहरू जनताको हित, सामाजिक गतिविधि तथा सामुदायिक विकासका लागि उपयोगी बन्नुपर्ने उल्लेख गर्दै स्थानीय सरकारलाई जनविश्वास कायम राखेर काम गर्न आग्रह गर्नुभयो।


कार्यक्रममा कोशी गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।


कोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले आयोजना गरेको कार्यक्रममा अतिथिहरूले लोकही सिटीहल क्षेत्रको विकास र सामाजिक गतिविधिका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका थिए।

प्रतिक्रिया