विवेकशील साझा पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई तुरुन्त बर्खास्त गर्न प्रधानमन्त्री केपी ओलीसँग माग गरेको छ ।>
विवेकशीलले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै भ्रष्टाचारमा चुर्लुम्म डुबेका मन्त्रीद्वय गुप्ता र अधिकारीलाई तुरुन्त बर्खास्त गर्न माग गरेको हो ।>
मन्त्रीद्वयको भ्रष्टाचार मुद्दामा संलग्न भएको समाचार र अडियो छताछुल्ल सार्वजनिक भइसक्दा पनि उनीहरु पदमै रहिरहेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।>
पार्टी प्रवक्ता आशुतोष प्रधानले जारी गरेको विज्ञप्तिमा जनताको करबाट सृजित राज्य सुविधाको उपयोग गरिरहेका मन्त्रीद्वय गुप्ता र अधिकारीमाथि लागेको सार्वजनिक भ्रष्टाचारको आरोप छताछुल्ल हुँदा पनि उनीहरूलाई बर्खास्त नगर्नुले भ्रष्टाचारको सुई सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीमाथि पनि फर्किन सक्ने उल्लेख गरिएको छ ।>
भ्रष्टाचारको दर्जनौँ प्रकरण र काण्डहरूको न्यायिक निरुपण नभइरहेको अवस्थामा बहालवाला मन्त्रीहरू प्रत्यक्ष संलग्न भएको भ्रष्टाचार काण्डले सुशासनको सवालमा हामी अत्यन्त कमजोर अवस्थामा गुज्रिरहेको ऐना फेरि सार्वजनिक भएको विवेकशीलले उल्लेख गरेको छ।>
विवेकशील साझाले भ्रष्टाचारको यस प्रकरणलाई अत्यन्त गहन अनुसन्धान गर्न र आवश्यक कदम चाल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षणसमेत गराएको छ ।>>