मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागत र परिक्रमा मेलामा सहभागिताका लागि मटिहानी नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक बिदा दिएको छ। नगरमा आइतबार (आज) सार्वजनिक विदा दिइएको हो। >
मिथिला माध्यमिकी परिक्रमा यस भेगको सांस्कृतिक तथा धार्मिक उत्सव भएको हुँदा आफ्नो ठाउँमा आइपुग्ने यात्री र अतिथिको स्वागतमा सबैको सहभागिता हुन सकोस् भन्ने ध्येयले सार्वजनिक बिदा दिँदै आइएको नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ। >
मिथिला माध्यमिकी परिक्रमाको ‘डोला’ (श्रीराम सीताको प्रतिमा राखिएका डोली) साथ यस यात्राका सहभागी यात्री आइतबार मटिहानी पुग्छन्। यात्राको चौथो दिन ‘डोला’ मटिहानी आइपुग्ने मिथिलाको स्थापित परम्परा हो। मटिहानी परिक्रमा महोत्तरी प्रवेश गर्ने द्वार पनि हो। मटिहानीसँगै लगातार पाँच रात परिक्रमा यात्रीले जिल्लामा बिताउनेछन्। >
महोत्तरीमा माध्यमिकी परिक्रमा यात्राको चौथो, पाँचौँ, छैटौँ, सातौँ र आठौँ दिन क्रमशः मटिहानी, जलेश्वर, मडै (महोत्तरी गाउँपालिका), ध्रुवकुण्ड (बलवा नगरपालिका) र कञ्चनवन (भङ्गाहा नगरपालिका) मा रात्रिबासको परम्परा छ। श्रीराम र सीताका प्रतिमा राखिएका ‘डोला’साथ यात्री पडावस्थल (पारम्परिक रात्रि विश्रामस्थल) पुगेपछि सो दिन ती ठाउँमा परिक्रमा मेलाको परम्परा रहँदै आएको छ। >
आफ्नो ठाउँमा मेला र रात्रि विश्रामका दिन जिल्लाका अन्य चार स्थानीय तह जलेश्वर नगरपालिका, महोत्तरी गाउँपालिका, बलवा नगरपालिका र भङ्गाहा नगरपालिका कार्यालयले पनि यसअघिदेखि नै सार्वजनिक बिदा दिँदै आएका छन्।>
गत बिहीबार धनुषाको मिथिला विहारी–८ कचुरीस्थित मिथिला विहारी मन्दिरबाट श्रीराम र जनकपुरधाम–८ स्थित सुन्दरसदन मठबाट श्री सीताजीका प्रतिमा ‘डोला’ मा राखेर सुरू भएको यात्रा १५ रात बिताएर १६औँ दिन बिहान जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर सम्पन्न गरिने परम्परा छ। यस यात्रामा महोत्तरीका पाँच, धनुषाका छ र भारतको मधुवनी जिल्लामा चार पडावस्थल (रात्रि विश्रामस्थल) को चलन छ। रासस>>