सुनसरी । सुनसरीको भण्टावारी-भिमनगर नाकाबाट जाली नोटसहित दुई जना युवकलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ।
>
कोशी गाउँपालिका–८ भण्टावारी स्थित भिमनगर बोर्डर पोस्टमा जाली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भाण्टाबारीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्य प्रसाद अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार राति साढे ९ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको लु.९२ प.२३८० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ती युवाहरूलाई पक्राउ गरेको हो।>
पक्राउ पर्नेमा सप्तरी जिल्ला हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेश कुमार रजक र सोही नगरपालिका–१ का २५ वर्षीय राजेश चमार रजक रहेका छन्। प्रहरीले मोटरसाइकलको पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली एक हजार दरको नक्कली नोटजस्तो देखिने ३८ थान गरी जम्मा ३८ हजार रुपैयाँ बरामद गरेको जनाएको छ।>
जाली नोट तथा प्रयोगमा ल्याइएको मोटरसाइकलसहित दुवैलाई नियन्त्रणमा लिइ अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।>>