हरिनगर गाउँपालिका तीव्र विकासतर्फ उन्मुख- अध्यक्ष गफार अन्सारीको नेतृत्वको प्रशंसा

Jasus Khabar 3942+ समाचार ( )
८ फाल्गुन २०८२

सुनसरी । हरिनगर गाउँपालिका जिल्ला सदरमुकामदेखि दक्षिणतर्फ अवस्थित शान्त, सुन्दर र तीव्र गतिमा विकास भइरहेको स्थानीय तहका रूपमा उभिएको छ। हिन्दू र मुस्लिम धर्मावलम्बीहरूको सद्भावपूर्ण सहअस्तित्व रहेको यो गाउँपालिका सामाजिक एकता र धार्मिक सहिष्णुताको उदाहरण बनेको स्थानीय सरोकारवालाहरू बताउँछन्।


घुस्की, बसन्तपुर, रामनगर, भुटहा हरिनगर र गौतमपुर गरी पाँच साविक गाविसलाई एकीकृत गरेर गठन गरिएको गाउँपालिकाले पछिल्ला वर्षहरूमा पूर्वाधार तथा सेवा प्रवाहमा उल्लेखनीय प्रगति हासिल गरेको जनाइएको छ।


गाउँपालिकाको भवन निर्माणका लागि आवश्यक जग्गा दानबाट प्राप्त भई हाल अध्यक्ष हाजी महम्मद गफार अन्सारी को नेतृत्वमा आधुनिक र व्यवस्थित प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेको छ।


स्थानीय सरकार सञ्चालन ऐनअनुसार सेवा–सुविधा छिटो, छरितो र पारदर्शी रूपमा प्रदान भइरहेको जनप्रतिनिधिहरूको दाबी छ। विकास निर्माणका कामहरू समेत तीव्र गतिमा अघि बढिरहेका छन्। गाउँपालिकाको समग्र विकासमा विपक्षी दलबाट निर्वाचित प्रतिनिधिहरूको योगदान पनि प्रशंसनीय रहेको उल्लेख गरिएको छ।


अध्यक्ष अन्सारीलाई शालीन, मिलनसार र जनतामुखी नेतृत्व भएको व्यक्तित्वका रूपमा चित्रित गरिएको छ। औपचारिक उच्च शैक्षिक उपाधि नभए पनि जनताबाट प्राप्त अनुभव र विश्वासले उहाँलाई सफल जनप्रतिनिधि बनाएको स्थानीय विश्लेषण छ। कानुनी शासन, धर्मनिरपेक्ष सोच तथा निष्पक्ष सेवाभावका कारण उहाँ जनतामाझ लोकप्रिय बन्दै गएको बताइन्छ।


राजनीतिक विश्लेषक पारस देव ले गाउँपालिकाको दीर्घकालीन विकासका लागि विशेषगरी कृषि क्षेत्रमा पर्याप्त बजेट लगानी आवश्यक रहेको औँल्याएका छन्। किसानको जीवनस्तर उकास्न आयमूलक तथा कृषि योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिएका छन्।


अध्यक्ष अन्सारीको कार्यकाल उपलब्धिमूलक, जनमुखी र सफल रहोस् भन्ने कामना स्थानीयवासीले व्यक्त गरेका छन्।

प्रतिक्रिया