कक्षा १२ को परीक्षा आजदेखि, ५ लाख ११ हजार विद्यार्थी सहभागी हुँदै

Jasus Khabar 3962+ समाचार ( )
२१ वैशाख २०८२

 आजदेखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुँदै छ। आगामी जेठ २ सम्म सञ्चालन हुने परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

परीक्षा सञ्चालनका लागि देशभरि ४८ हजार दुई सय नौ जना जनशक्ति खटिनेछन्। बोर्डका अनुसार यस वर्ष नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्।

देशभरिका पाँच हजार दुईसय दुई विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने र त्यसका लागि एक हजार पाँच सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ। यस वर्ष जापानबाट ३८ जनाले कक्षा १२ को परीक्षा दिँदैछन्। जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी त्यहीँको केन्द्रबाट परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ।

कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपांगता भएका परीक्षार्थीका निम्ति यसक्रममा विशेष व्यवस्था गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । यस्तै, कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइएको छ । जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमतिबिना जोकोहीलाई परीक्षा केन्द्रमा प्रवेश गर्न दिइने छैन । नेपालभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।


प्रतिक्रिया