काठमाडौं महानगरपालिका क्षेत्रभित्र जडान गरिएका वायु प्रदूषण मापनयन्त्रले प्रदान गरेको तथ्याङ्क हेर्न कामपाले ‘काठमाडौं महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सार्वजनिक गरेको छ ।>
विश्व वातावरण दिवसका अवसर पारेर बिहीबार ड्यासबोर्ड सार्वजनिक गरिएको हो । ड्यास बोर्डबाट कामपा क्षेत्रका विभिन्न १८ ठाउँमा जडान गरिएका उपकरणले देखाएको पिएम दुई दशमलव पाँच र वायु गुणस्तर सूचकाङ्कको विवरणलाई वास्तविक समयमा हेर्न सकिने कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सीता राईले जानकारी दिइन् । यसबाट अहिले कुन ठाउँमा वायुको गुणस्तरको अवस्था के छ भन्ने जानकारी पाउन सकिन्छ, कामपा स्वस्थ्य सहरका लागि थालेका प्रयत्नमध्ये यो एउटा महत्त्वपूर्ण प्रयास हो प्रमुख राईको भनाइ छ ।>
वायु गुणस्तरको अवस्थालाई विभिन्न छवटा रङले अवस्था सङ्केत गरिएको छ । जसमा हरियो रङ राम्रो अवस्थाको सङ्केत हो । पहेँलो रङ मध्यम, सुन्तला रङ बालबालिका, ज्येष्ठ नागरिक, फोक्सोमा समस्या भएका, मुटुरोग भएका जस्ता वर्गका व्यक्तिका लागि संवेदनशील अवस्था हो । रातो रङले अस्वस्थ्य अवस्थाको सङ्केत गर्छ । यो सबैका लागि अस्वस्थ्य अवस्था हो । खासगरी संवेदनशील वर्गका व्यक्तिहरू यसबाट जोगिनुपर्छ ।>
वैजनी रङले सबै व्यक्तिको स्वास्थ्यमा गम्भीर हुनसक्ने सङ्केत गरिएको छ । यस्तै गाढा खैरो रङ जोखिमपूर्ण अवस्था हो । यसमा सबै मानिसको स्वास्थ्यमा गम्भीर असर हुनसक्छ । खासगरी पहिले नै समस्या भएकाहरूका लागि बढी असर हुनसक्छ ।>
कामपा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी भन्छन्, “ड्यास बोर्डबाट प्राप्त हुने तथ्याङ्कले सहरी जनस्वास्थ्य समस्या समाधानका लागि नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्न आधार दिनेछ ।”>
वायु गुणस्तर सूचकाङ्कलाई रङ सङ्केत दिएर स्वास्थ्य सावधानी सूचना बोर्ड राखिने छ । वायु प्रदूषणसम्बन्धी जनचेतनामूलक भिडियो सन्देश राख्ने ठाउँ बोर्डमा छ । यसबाट सवारी साधन प्रदूषण जाँचको प्रगति विवरण हेर्न सकिन्छ । क्षेत्रपाटी चिकित्सालय, लैनचौर, कलङ्की चोक, बालाजु बाइसधारा उद्यान, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, थापाथली, महानगर प्रहरी बलको क्षेत्रीय कार्यालय नयाँ बसपार्कमा वायु प्रदूषण मापनयन्त्र जडान गरिएका छन् ।>
>>