फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा

Jasus Khabar 1+ समाचार ( )
२९ मंगशिर २०७९

फ्रान्स लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ। साविक विजेता फ्रान्सले बुधबार अल बेयत रंगशाला कतारमा भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै उपाधि नजिक पुगेको हो।

फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले १-१ गोल गरे।

खेलको सुरूवाती चौथो मिनेटमै फ्रान्सले अग्रता लिएको थियो। हर्नान्डेजले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बललाई गोल गरेका थिए।

पहिलो हाफमा १-० को अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा वैकल्पिक खेलाडीमार्फत अर्को गोल थप्यो।

७९ औं मिनेटमा फ्रान्सले अग्रता दोब्बर पार्‍यो। रान्दल कोलो मुआनीले बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै गोल गरे। केलीयन एमबाप्पेले पेनाल्टी क्षेत्र भित्रबाट दिएको चलाखीपूर्ण पासको सदुपयोग गर्दै मुआनीले गोल गरे।

मोरक्कोले पाएका केही राम्रा अवसर पटक पटक सदुपयोग गर्न नसक्दा फ्रान्सले सहज जित निकाल्यो।

फ्रान्सले अब उपाधिका लागि फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ। फाइनल आइतबार हुनेछ। अर्जेन्टिनाले मंगलबार राति क्रोएसियालाई हराउँदै उपाधि नजिक पुगेको थियो।

प्रतिक्रिया