सर्पको टोकाइबाट महोत्तरी डिभिजन वन कार्यालय लक्ष्मिनियामा कार्यरत एक जना कर्मचारीको मृत्यु भएको छ ।>
महोत्तरी गौशाला नगरपालिका–१० लक्ष्मिनिया (बटौवा) टोलका १७ वर्षीय रुपेश महतोको सर्पको टोकाइबाट मृत्यु भएको हो । डिभिजन वन कार्यालयको क्वाटरमा सुतिरहेका महतोलाई राति १ बजे सर्पले टोकेको थियो ।>
त्यसपछि उनलाई उपचारको लागि बर्दिबास सर्पदंश उपचार केन्द्रमा लगेको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि जनसेवा अस्पताल बर्दिबास पुर्याइएको थियो । उनको उपचारको क्रममा आज बिहान सवा पाँच बजे मृत्यु भएको हो ।>
मृतकका परिवारले वन कार्यालयकै गम्भीर लापरबाहीले रुपेशको ज्यान गएको आरोप लगाएका छन् । सुत्ने कोठा असुरक्षित भएको, कोठाभित्र सरसफाइको व्यवस्था नभएको, झ्याल ढोका खुलेको, घाँसपात र झाडी आसपास रहेको परिवारको भनाइ छ ।>
सर्प प्रवेश गर्न नदिने किसिमको संरचना नहुनु, झिँगटी वा सुरक्षात्मक उपाय नगर्नु, तथा राति ड्युटीमा रहेका कर्मचारीको सुरक्षाप्रति कार्यालयको उदासीनता देखिएको परिवारजनको आरोप छ ।>
>>