पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–८, कालासोताका लक्ष्मण रामजाली मगर शारीरिक रूपमा अशक्त छन् । ६६ वर्षीय लक्ष्मण आठ वर्षअघि रुखबाट लडेर शरीरको तल्लो भागले साथ दिन छोडेपछि अहिले उनको दैनिकी ह्वीलचियरमा बितिरहेको छ । प्रायः सुनसान रहने उनको घरको आँगनमा ह्वीलचियर यताउता गुडाउँदै दैनिकी बिताउनुबाहेक अर्को विकल्प लक्ष्मणसँग छैन । तर अहिले उनलाई दैनिकी बिताउन भने निकै सहज भइरहेको छ । कारण हो, मदन भण्डारी राजमार्ग ।>
राजमार्गको तेस्रो प्याकेजअन्तर्गत अहिले लक्ष्मणको आँगनहुँदै विद्यापुर डाडाँदेखि चौर खोला जोड्ने सडक निर्माणको काम धमाधम चलिरहेको छ । लक्ष्मणको घरको आँगनमै जोडिएर मदन भण्डारी पूर्वपश्चिम लाग्छ । ह्वीलचियरमा एक्लै यताउता गरेर दिन कटाउने लक्ष्मण आजभोलि सडक निर्माणमा संलग्न मजदुरहरूले गरिरहेको काम नियालेर बस्छन् । फुर्सदमा तिर्खा मेटाउन आउने मजदुरसँग उनी सोध्छन्, ‘सर, यो बाटो कहिलेसम्म बन्ला ?’>
तत्कालीन १० वर्षे माओवादी सशस्त्र युद्धका समयमा लक्ष्मणलगायतका अन्य व्यक्तिको अगुवाइमा खनिएको डोरेटो बाटो आज आएर मदन भण्डारी राजमार्गको रूप लिन्छ भन्नेमा उनले कहिल्यै कल्पनासमेत गरेका थिएनन् । यही बाटो भएर आफ्ना छोराछोरीलाई पढाउन वीरेन्द्रनगरसम्म हिँडेर रासन–पानी पुर्याएको उनले अझै बिर्सेका छैनन् ।>
‘उतिबेला माओवादीको युद्ध चरमोत्कर्षमा थियो । हामीले यता पनि बाटो बनाउनुपर्छ भनेर मान्छे लगाएर खनेको डोरेटो बाटो हो यो । अहिले पो जताततै बाटो पुग्यो । ऊ बेला केटाकेटीलाई रासनपानी पुर्याउन हिँडेरै वीरेन्द्रनगर पुग्नुपर्थ्यो । अब घरकै छेउमा राजमार्ग आइपुग्यो,’ उनी भन्छन् ।>
सडक विस्तार हुने कुरा चलेसँगै जग्गाको भाउ बढेको तथा स्थानीय उत्पादनले बजार पाउन थालेको उनले बताए । सडकले पूर्णता पाए आफूलाई अस्पताल जानसमेत सहज हुने लक्ष्मणले सुनाए ।>
यस्तै, पञ्चपुरी नगरपालिका– ९ का छविलाल बयक चौकुने गाउँपालिकाको गुटु खोलामा भेटिए । वर्षामा गुटु खोलामा आउने बाढीले नागरिकहरूलाई हिँडेरै गन्तव्य छिचोल्नुपर्थ्यो । जीवनको उत्कर्षसम्म यही नियति भोगेका बयकका आँखाअघि अहिले त्यही गुटु खोलामा पक्की पुल निर्माणको काम जारी छ ।>
८४ वर्षीय बयक दैनिक एकपटक पुलमा पुग्छन् । कामका गतिविधि नियाल्छन् । बीचमा रोकिएको कामले अब बिस्तारै गति लिन्छ होला भन्ने आशाले घर फर्किन्छन् । पुलको ढलानका लागि ठेकेदारले देखाएको जाँगरले यो वर्ष पक्कै खोलाबाट होइन, अब पुलबाटै गाडी गुड्छन् भन्नेमा बयक ढुक्क छन् ।>
तर, लक्ष्मण र छविलालमा मदन भण्डारी राजमार्गले ल्याएको उत्साह भने समयमै पूरा हुने छाट देखिँदैन । कारण हो पश्चिम खण्डका विभिन्न क्षेत्रमा राजमार्ग विस्तारमा नीतिगत तथा स्थानीयको अवरोध । मदन भण्डारी राजमार्ग अन्तर्गत झण्डै एक सय ५८ किलोमिटर क्षेत्र सुर्खेत खण्डमा पर्दछ ।>
सुर्खेत जिल्लाको पूर्वी गुर्भाकोटको भेडाबारीबाट सुरु भएको यो राजमार्गले पश्चिम चौकुने गाउँपालिकाको बेनीघाटहुँदै सुदूरपश्चिमको डोटी जिल्ला प्रवेश गर्छ । पूर्वी खण्डमो ३५ किलोमिटर सडकको निर्माण कार्य ९० प्रतिशत सम्पन्न हुँदा पश्चिम खण्डमा विवादै विवादका कारण आयोजनाले काम गर्न पाएको छैन ।>
मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेतका ईन्जिनियर रेशम वलीका अनुसार जिल्लाको पूर्वी खण्डको काम अब अन्तिम चरणमा छ । ‘पूर्वी खण्डको भेडाबारीदेखि धुलियाबीटसम्मको ३५ मध्ये ६ किलोमिटर मात्र कालोपत्रे हुन बाँकी छ,’ वली भन्छन्, ‘बाँकी खण्डमा पनि काम भइरहेकाले अबको केही समयमै काम सम्पन्न हुन्छ ।’>
पूर्वी खण्डमा निर्माण गर्नुपर्ने अधिकांश पुल निर्माण सम्पन्न भएको उल्लेख गर्दै उनले पश्चिम खण्डमा भने विवादका कारण काममा बारम्बार अवरोध सिर्जना भइरहेको बताए । पछिल्लो पटक गुटु–बल्दे खण्डको विजौरामा स्थानीयको अवरोधका कारण बिजौरा अस्पताल चोकदेखि बिजौरा बजार हुँदै डुङखोलासम्मको झण्डै १५ सय मिटर सडकमा निर्माण रोकिएको उनले बताए ।>
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा अस्पताल चोकदेखी बिजौरा बजारहुँदै सडक डुङखोलासम्म जोडिन्छ । डीपीआर निर्माणको क्रममा कुनै अवरोध नगरेका स्थानीयले अहिले डीपीआरअनुसार सडक निर्माण गर्दा बिजौरा बजार नै विस्थापित हुने अवस्था आएको दावी गर्दै आएका छन् । स्थानीयले सडक विस्तारमा अवरोध गरेपछि सो खण्ड छाडेर अघि बढ्ने तयारी आयोजनाले गरेको छ ।>
पश्चिम खण्डको सडक विस्तारमा सिर्जना भएको विवाद पहिलोपटक भने होइन । पश्चिम खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणदेखि नै स्थानीयबाट विवाद हुँदै आएको छ । राजमार्गको पूर्वी खण्डमा सर्भेको काम धमाधम अघि बढ्दा पश्चिम खण्डमा भने डीपीआर चरणमै विवाद उत्पन्न भएको थियो ।>
बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाका स्थानीयले डीपीआर चरणमै अवरोध सिर्जना गरेका थिए । बराहताल–५, को बड्डीचौर र पञ्चपुरीको बराइँचे र दुलालथाईमा स्थानीयले सडकको सर्वे नै अघि बढ्नबाट रोकेका थिए । यही खण्डमा सुरुवाती विन्दु बड्डीचौरदेखि खम्बागाडेसम्मको १३ दशमलव एक किलोमिटर खण्डमा रुख कटान र जग्गा भोगाधिकारको विवाद अझै सुल्झन सकेको छैन । प्रदेश सरकारले आफ्नो मातहतमा ल्याएर अघि बढाएको यो खण्डमा दुई वर्षपछि जग्गा भोगाधिकार तथा रुख कटानको कानुनी प्रक्रिया सुरु भएको छ । जसका कारण पश्चिम सुर्खेतका नागरिकको स्तरिय सडकमा यात्रा गर्ने धोको पूरा हुन सकेको छैन ।>
५० को दशकमा निर्माण गरिएको जीर्ण सडकमा सास्ती भोग्दै आएका पश्चिम सुर्खेतका नागरिक मदन भण्डारी राजमार्गले पूर्णता पाएको हेर्ने अपेक्षामा छन् । पश्चिम सुर्खेत मात्रै होइन, समग्र सुर्खेत जिल्ला नै मदन भण्डारी राजमार्गका कारण मुहार फेर्ने सुरसारमा छ । यो राजमार्ग सुर्खेतका नौमध्ये ६ वटा स्थानीय तहको बीचभागबाट पूर्वपश्चिम लाग्छ । गुर्भाकोट, लेकबेँसी, वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिका तथा बराहताल र चौकुने गाउँपालिकाको बीच भागबाट छिचोलिने यो सडकलाई नागरिकहरूले लाइफ लाइनका रूपमा बुझेका छन् ।>
यो सडकले यी पालिकाको ठूलो जनसंख्यालाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ दिनेछ । सुर्खेत पूर्व र पश्चिम खण्डमा मदन भण्डारी राजमार्ग आयोजनाले विवाद नभएका क्षेत्रमा ठेक्का व्यवस्थापन गरेर धमाधम काम अघि बढाएपछि स्थानीय उत्साहित बनिरहेका छन् । पश्चिम सुर्खेतका नागरिकले व्यवस्थित सडकमा यात्रा गर्ने धोको अहिलेको भने होइन । २०५१ सालमै पश्चिम सुर्खेतलाई सडक सञ्जालमा जोड्न ट्र्याक खोलिएको थियो । तर, भण्डै ३१ वर्षसम्म पनि यो सडकको स्तरोन्नति नहुँदा नागरिक चार घण्टा लाग्ने बाटोमा दुई दिन लगाएर कष्टकर यात्रा गर्न बाध्य बनिरहेका छन् ।>
सरकारले मदन भण्डारी सडक नामकरण गरी धमाधम स्तरोन्नतिको काम अघि बढाएपछि यहाँका नागरिकमा आशाको सञ्चार भइरहेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत खण्डको कामले गति लिएसँगै बिस्तारै सडकक्षेउमा व्यवस्थित ठूला बस्ती विकास हुँदै गएका छन् भने स्थानीयहरू आर्थिक उपार्जनमा समेत जोडिँदै जान थालेका छन् । यसले यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुग्ने अपेक्षा छ । मदन भण्डारी राजमार्गको सुर्खेत खण्डको पूर्णतापछि कर्णालीका नागरिकलाई लुम्बिनी र सुदूरपश्चिम प्रदेश पुग्न छोटा मार्गहरूसँग पहुँच विस्तार गर्नेछ । हाल कर्णालीका नागरिकलाई लुम्बिनी र सुदूरपश्चिम पुग्न सुर्खेत–कोहलपुर सडक खण्ड प्रयोग गर्नुपर्ने हुन्छ ।>>