मदन भण्डारी राजमार्गः सुर्खेतको पूर्वी खण्डको निर्माण सकिनै लाग्दा पश्चिम खण्डमा अवरोधै अवरोध

Jasus Khabar 3942+ समाचार ( )
९ वैशाख २०८२

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–८, कालासोताका लक्ष्मण रामजाली मगर शारीरिक रूपमा अशक्त छन् । ६६ वर्षीय लक्ष्मण आठ वर्षअघि रुखबाट लडेर शरीरको तल्लो भागले साथ दिन छोडेपछि अहिले उनको दैनिकी ह्वीलचियरमा बितिरहेको छ । प्रायः सुनसान रहने उनको घरको आँगनमा ह्वीलचियर यताउता गुडाउँदै दैनिकी बिताउनुबाहेक अर्को विकल्प लक्ष्मणसँग छैन । तर अहिले उनलाई दैनिकी बिताउन भने निकै सहज भइरहेको छ । कारण हो, मदन भण्डारी राजमार्ग ।

राजमार्गको तेस्रो प्याकेजअन्तर्गत अहिले लक्ष्मणको आँगनहुँदै विद्यापुर डाडाँदेखि चौर खोला जोड्ने सडक निर्माणको काम धमाधम चलिरहेको छ । लक्ष्मणको घरको आँगनमै जोडिएर मदन भण्डारी पूर्वपश्चिम लाग्छ । ह्वीलचियरमा एक्लै यताउता गरेर दिन कटाउने लक्ष्मण आजभोलि सडक निर्माणमा संलग्न मजदुरहरूले गरिरहेको काम नियालेर बस्छन् । फुर्सदमा तिर्खा मेटाउन आउने मजदुरसँग उनी सोध्छन्, ‘सर, यो बाटो कहिलेसम्म बन्ला ?’

तत्कालीन १० वर्षे माओवादी सशस्त्र युद्धका समयमा लक्ष्मणलगायतका अन्य व्यक्तिको अगुवाइमा खनिएको डोरेटो बाटो आज आएर मदन भण्डारी राजमार्गको रूप लिन्छ भन्नेमा उनले कहिल्यै कल्पनासमेत गरेका थिएनन् । यही बाटो भएर आफ्ना छोराछोरीलाई पढाउन वीरेन्द्रनगरसम्म हिँडेर रासन–पानी पुर्‍याएको उनले अझै बिर्सेका छैनन् ।

‘उतिबेला माओवादीको युद्ध चरमोत्कर्षमा थियो । हामीले यता पनि बाटो बनाउनुपर्छ भनेर मान्छे लगाएर खनेको डोरेटो बाटो हो यो । अहिले पो जताततै बाटो पुग्यो । ऊ बेला केटाकेटीलाई रासनपानी पुर्‍याउन हिँडेरै वीरेन्द्रनगर पुग्नुपर्थ्यो । अब घरकै छेउमा राजमार्ग आइपुग्यो,’ उनी भन्छन् ।

सडक विस्तार हुने कुरा चलेसँगै जग्गाको भाउ बढेको तथा स्थानीय उत्पादनले बजार पाउन थालेको उनले बताए । सडकले पूर्णता पाए आफूलाई अस्पताल जानसमेत सहज हुने लक्ष्मणले सुनाए ।

यस्तै, पञ्चपुरी नगरपालिका– ९ का छविलाल बयक चौकुने गाउँपालिकाको गुटु खोलामा भेटिए । वर्षामा गुटु खोलामा आउने बाढीले नागरिकहरूलाई हिँडेरै गन्तव्य छिचोल्नुपर्थ्यो । जीवनको उत्कर्षसम्म यही नियति भोगेका बयकका आँखाअघि अहिले त्यही गुटु खोलामा पक्की पुल निर्माणको काम जारी छ ।

८४ वर्षीय बयक दैनिक एकपटक पुलमा पुग्छन् । कामका गतिविधि नियाल्छन् । बीचमा रोकिएको कामले अब बिस्तारै गति लिन्छ होला भन्ने आशाले घर फर्किन्छन् । पुलको ढलानका लागि ठेकेदारले देखाएको जाँगरले यो वर्ष पक्कै खोलाबाट होइन, अब  पुलबाटै गाडी गुड्छन् भन्नेमा बयक ढुक्क छन् ।

तर, लक्ष्मण र छविलालमा मदन भण्डारी राजमार्गले ल्याएको उत्साह भने समयमै पूरा हुने छाट देखिँदैन । कारण हो पश्चिम खण्डका विभिन्न क्षेत्रमा राजमार्ग विस्तारमा नीतिगत तथा स्थानीयको अवरोध । मदन भण्डारी राजमार्ग अन्तर्गत झण्डै एक सय ५८ किलोमिटर क्षेत्र सुर्खेत खण्डमा पर्दछ ।

सुर्खेत जिल्लाको पूर्वी गुर्भाकोटको भेडाबारीबाट सुरु भएको यो राजमार्गले पश्चिम चौकुने गाउँपालिकाको बेनीघाटहुँदै सुदूरपश्चिमको डोटी जिल्ला प्रवेश गर्छ । पूर्वी खण्डमो ३५ किलोमिटर सडकको निर्माण कार्य ९० प्रतिशत सम्पन्न हुँदा पश्चिम खण्डमा विवादै विवादका कारण आयोजनाले काम गर्न पाएको छैन ।

मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेतका ईन्जिनियर रेशम वलीका अनुसार जिल्लाको पूर्वी खण्डको काम अब अन्तिम चरणमा छ । ‘पूर्वी खण्डको भेडाबारीदेखि धुलियाबीटसम्मको ३५ मध्ये ६ किलोमिटर मात्र कालोपत्रे हुन बाँकी छ,’ वली भन्छन्, ‘बाँकी खण्डमा पनि काम भइरहेकाले अबको केही समयमै काम सम्पन्न हुन्छ ।’

पूर्वी खण्डमा निर्माण गर्नुपर्ने अधिकांश पुल निर्माण सम्पन्न भएको उल्लेख गर्दै उनले पश्चिम खण्डमा भने विवादका कारण काममा बारम्बार अवरोध सिर्जना भइरहेको बताए । पछिल्लो पटक गुटु–बल्दे खण्डको विजौरामा स्थानीयको अवरोधका कारण बिजौरा अस्पताल चोकदेखि बिजौरा बजार हुँदै डुङखोलासम्मको झण्डै १५ सय मिटर सडकमा निर्माण रोकिएको उनले बताए ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा अस्पताल चोकदेखी बिजौरा बजारहुँदै सडक डुङखोलासम्म जोडिन्छ । डीपीआर निर्माणको क्रममा कुनै अवरोध नगरेका स्थानीयले अहिले डीपीआरअनुसार सडक निर्माण गर्दा बिजौरा बजार नै विस्थापित हुने अवस्था आएको दावी गर्दै आएका छन् । स्थानीयले सडक विस्तारमा अवरोध गरेपछि सो खण्ड छाडेर अघि बढ्ने तयारी आयोजनाले गरेको छ ।

पश्चिम खण्डको सडक विस्तारमा सिर्जना भएको विवाद पहिलोपटक भने होइन । पश्चिम खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणदेखि नै स्थानीयबाट विवाद हुँदै आएको छ । राजमार्गको पूर्वी खण्डमा सर्भेको काम धमाधम अघि बढ्दा पश्चिम खण्डमा भने डीपीआर चरणमै विवाद उत्पन्न भएको थियो ।

बराहताल  गाउँपालिका र पञ्चपुरी नगरपालिकाका स्थानीयले डीपीआर चरणमै अवरोध सिर्जना गरेका थिए । बराहताल–५, को बड्डीचौर र पञ्चपुरीको बराइँचे र दुलालथाईमा स्थानीयले सडकको सर्वे नै अघि बढ्नबाट रोकेका थिए । यही खण्डमा सुरुवाती विन्दु बड्डीचौरदेखि खम्बागाडेसम्मको १३ दशमलव एक किलोमिटर खण्डमा रुख कटान र जग्गा भोगाधिकारको विवाद अझै सुल्झन सकेको छैन । प्रदेश सरकारले आफ्नो मातहतमा ल्याएर अघि बढाएको यो खण्डमा दुई वर्षपछि जग्गा भोगाधिकार तथा रुख कटानको कानुनी प्रक्रिया सुरु भएको छ । जसका कारण पश्चिम सुर्खेतका नागरिकको स्तरिय सडकमा यात्रा गर्ने धोको पूरा हुन सकेको छैन ।

५० को दशकमा निर्माण गरिएको जीर्ण सडकमा सास्ती भोग्दै आएका पश्चिम सुर्खेतका नागरिक मदन भण्डारी राजमार्गले पूर्णता पाएको हेर्ने अपेक्षामा छन् । पश्चिम सुर्खेत मात्रै होइन, समग्र सुर्खेत जिल्ला नै मदन भण्डारी राजमार्गका कारण मुहार फेर्ने सुरसारमा छ । यो राजमार्ग सुर्खेतका नौमध्ये ६ वटा स्थानीय तहको बीचभागबाट पूर्वपश्चिम लाग्छ । गुर्भाकोट, लेकबेँसी, वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिका तथा बराहताल र चौकुने गाउँपालिकाको बीच भागबाट छिचोलिने यो सडकलाई नागरिकहरूले लाइफ लाइनका रूपमा बुझेका छन् ।

यो सडकले यी पालिकाको ठूलो जनसंख्यालाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ दिनेछ । सुर्खेत पूर्व र पश्चिम खण्डमा मदन भण्डारी राजमार्ग आयोजनाले विवाद नभएका क्षेत्रमा ठेक्का व्यवस्थापन गरेर धमाधम काम अघि बढाएपछि स्थानीय उत्साहित बनिरहेका छन् । पश्चिम सुर्खेतका नागरिकले व्यवस्थित सडकमा यात्रा गर्ने धोको अहिलेको भने होइन । २०५१ सालमै पश्चिम सुर्खेतलाई सडक सञ्जालमा जोड्न ट्र्याक खोलिएको थियो । तर, भण्डै ३१ वर्षसम्म पनि यो सडकको स्तरोन्नति नहुँदा नागरिक चार घण्टा लाग्ने बाटोमा दुई दिन लगाएर कष्टकर यात्रा गर्न बाध्य बनिरहेका छन् ।

सरकारले मदन भण्डारी सडक नामकरण गरी धमाधम स्तरोन्नतिको काम अघि बढाएपछि यहाँका नागरिकमा आशाको सञ्चार भइरहेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत खण्डको कामले गति लिएसँगै बिस्तारै सडकक्षेउमा व्यवस्थित ठूला बस्ती विकास हुँदै गएका छन् भने स्थानीयहरू आर्थिक उपार्जनमा समेत जोडिँदै जान थालेका छन् । यसले यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुग्ने अपेक्षा छ । मदन भण्डारी राजमार्गको सुर्खेत खण्डको पूर्णतापछि कर्णालीका नागरिकलाई लुम्बिनी र सुदूरपश्चिम प्रदेश पुग्न छोटा मार्गहरूसँग पहुँच विस्तार गर्नेछ । हाल कर्णालीका नागरिकलाई लुम्बिनी र सुदूरपश्चिम पुग्न सुर्खेत–कोहलपुर सडक खण्ड प्रयोग गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया