>
सुनसरी । ईलाका प्रहरी कार्यालय दुहबीले गत बैशाख ६ गते दुहबीबाट मोरङ बुढीगंगातर्फ जाँदै गरेको अवस्थामा ठूलो परिमाणमा १ सय १६ केजी गाँजा बरामद गरेको थियोे ।>
बा ७ च ९२६३ नम्बरको मारुती सुजुकी कारमा लागुऔषध गाँजा रहेको गोप्य सूचनाको आधारमा इप्रका दुहबीबाट प्रविण निरीक्षक रजिप रणपहेलीको कमाण्डमा खटिएको ९ जनाको प्रहरी टोलीले पिछा गर्दै जाँदा दुहबी नगरपालिका–४ मालहट्टीस्थित सडकमा उक्त कार रोकिएपछि चालक फरार भएका थिए ।>
>
त्यसपछि प्रहरी टोलीले कार जाँच गर्दा डिक्कीभित्र ४ वटा जेब्रा झोलामा प्याक गरि लोड गरिएको ११६ केजी गाँजा फेला पारेको थियो। बरामद गरिएको कार र गाँजा ईलाका प्रहरी कार्यालय दुहबीमा राखिएको र फरार चालकको खोजी तीव्र पारिएको थियो ।>
>
फरार चालक नसरुदिन मिया पक्राउ>
>
घटनालगत्तै फरार रहेका कार चालक मोरङ बुढीगंगा गाउँपालिका–४ का २८ वर्षीय नसरुदिन मिया (चिन) को खोजी गर्दै जाँदा मिति आज बुधबार दुहबी नगरपालिका–४ मालहट्टीकै सडकमा उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।>
>
इप्रका दुहबीबाट प्रहरी सहायक निरीक्षक शुसिल कुमार साहको कमाण्डमा खटिएको ३ जनाको टोलीले मियालाई नियन्त्रणमा लिएर जिल्ला अदालत सुनसरी इनरुवाबाट सात दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।>
>
प्रहरीका अनुसार लागुऔषध गाँजा ओसारपसारमा संलग्न अन्य व्यक्तिहरुको पहिचान तथा तस्करी सञ्जालबारे थप अनुसन्धान भइरहेको छ ।>
>
>>