>
अजमल अन्सारी>
सुनसरी । खेलकुद गतिविधि मार्फत युवामा सकारात्मक ऊर्जा र सामाजिक सद्भाव सृजना गर्ने उद्देश्यले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ जनता चौकस्थित प्रथम भोक्राहा नरसिंह प्रदेशस्तरीय नकआउट कबड्डी प्रतियोगिता आयोजना हुने भएको छ।>
जनता युवा क्लबको आयोजना र भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका र कोशी गाउँपालिका तथा कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयको विशेष सहयोगमा जेष्ठ ९ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेशभरका १० वटा कबड्डी टोलीहरू प्रतिस्पर्धामा उत्रिने क्लबका अध्यक्ष हैदर अलिले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्।>
>
उनका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। "प्रदेशस्तरीय प्रतियोगिता यस क्षेत्रमै पहिलोपटक हुन लागेको हो। यसले स्थानीय खेलकुदको विकास मात्र नभई सामाजिक एकता र भाइचारा प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास लिएको छौं," अध्यक्ष अलिले बताए।>
>
प्रतियोगिताको उद्घाटन समारोह कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरी र भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अखतर आजाद मिया, हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीसहित विभिन्न राजनीतिक, सामाजिक र खेल क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा भव्य रूपमा उद्घाटन गरिने आयोजकले जनाएको छ।>
>
तीनदिने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रथम पुरस्कार ६० हजार र दोस्रो पुरस्कार ४० हजार रहेको आयोजकले जनाएको छ ।>
>
आयोजकका अनुसार प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन स्थानीय युवा समूह, सुरक्षाकर्मी र स्वयंसेवकहरूको सक्रिय सहभागीता रहनेछ। खेलप्रेमी तथा स्थानीय बासिन्दालाई प्रतियोगिता अवलोकन र प्रोत्साहनका लागि उपस्थित हुन समेत आग्रह गरिएको छ।>
>
पत्रकार सम्मेलनमा सुनोज निराैला र सजिलो कृषि सहकारी संस्थाका अध्यक्ष तथा भोक्राहा नरसिंह कबड्डी टिमका प्रबन्धक जमालुद्दीन मन्सुरी लगायतका सरोकारवालाहरुको उपस्थित रहेको थियो ।>
>
ट्रफी अनावरण तथा जर्सी सार्वजनिक>
>
यसैबीच भोक्राहा नरसिंह गाउँपालिकामा आयोजना हुने कबड्डी प्रतियोगिताको ट्रफी अनावरण तथा स्थानीय टिमको जर्सी सार्वजनिक गरिएको छ।>
>
ट्रफी अनावरण तथा जर्सी सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवले कबड्डीजस्तो परम्परागत खेललाई संरक्षण र प्रवर्द्धन गर्न यस्ता प्रतियोगिता अत्यन्तै आवश्यक रहेको बताउनुभयो। "स्थानीयस्तरमै खेलकुद गतिविधि बढ्दै जानु सकारात्मक संकेत हो," यादवले भने।>
>
>
>
>>