लौकही सिटी हल उद्घाटनमा पूर्वसांसद कार्की अनुपस्थित, भ्रष्टाचार मुद्दापछि बढ्यो चर्चा

Jasus Khabar 3942+ समाचार ( )
७ जेठ २०८३

सुनसरी । कोशी गाउँपालिका–१ स्थित लौकही सिटी हल उद्घाटन कार्यक्रममा पूर्वसांसद तथा नेपाली कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीको अनुपस्थिति भएपछि स्थानीयस्तरमा विभिन्न अड्कलबाजी सुरु भएको छ।

स्थानीयवासीका अनुसार कार्कीकै पहलमा तथा उहाँ सांसद रहेका बेला निर्माण प्रक्रिया अघि बढेको उक्त सिटी हलको उद्घाटन समारोहमा उहाँको उपस्थिति नदेखिएपछि नागरिकहरू कारणबारे चासो व्यक्त गरिरहेका छन्।

उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पाैडेल सहभागी भएका थिए भने राष्ट्रपति समक्ष निमन्त्रणा पुर्‍याउन कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीसँगै कार्की पनि पुगेका थिए। त्यसयता भने उहाँ सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।

कार्की उद्घाटन समारोहमा अनुपस्थित हुनुको मुख्य कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दा रहेको चर्चा भइरहेको छ। आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी अनियमितताको आरोपमा पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले उक्त प्रकरणमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बराबरको बिगो मागदाबी गरेको जनाएको छ। मुद्दा विशेष अदालतमा दर्ता तथा सुनुवाइ प्रक्रियामा रहेको छ।

यता, लौकही सिटी हल उद्घाटन कार्यक्रममा कार्कीको अनुपस्थितिलाई लिएर स्थानीय राजनीतिक वृत्तमा विभिन्न टिप्पणी भइरहेका छन्। केहीले यसलाई भ्रष्टाचार मुद्दापछि सार्वजनिक गतिविधि सीमित बनाइएको अवस्थासँग जोडेर हेरेका छन् भने केहीले व्यक्तिगत तथा राजनीतिक कारण हुनसक्ने अनुमान गरेका छन्। 

कोशी गाउँपालिकाले भने सिटी हललाई प्रदेशकै महत्वपूर्ण पूर्वाधारका रूपमा प्रस्तुत गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया